तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले ९७ मिटर लामो क्यान्टिलिभर ग्लास स्काइ वाक निर्माण गर्ने भएको छ। करिब १ अर्ब ४० करोड लागतमा बन्ने यो परियोजना दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
विश्वस्तरीय प्रविधिमा आधारित यस स्काइ वाकमा एकैपटक प्रतिघण्टा करिब १ हजार पर्यटकले प्रयोग गर्न सक्ने क्षमता रहनेछ। स्मार्ट ग्लास प्रविधि प्रयोग गरिने भएकाले हिँड्दा सिसा चर्किएको जस्तो अनुभूति हुने आकर्षण पनि रहनेछ।
परियोजनाअन्तर्गत बञ्जी जम्प, सोप स्वीङ, जीप कोस्टर, फ्लाइ डाइनिङ र प्लानेटेरियमजस्ता साहसिक तथा मनोरञ्जनात्मक संरचनाहरू पनि निर्माण गरिनेछ। साथै, एकीकृत पर्यटन पूर्वाधारअन्तर्गत क्याप्सुल लिफ्ट, स्काइ डेक, क्लाइम्बिङ संरचना र आदियोगी शिवको विशाल मूर्ति पनि निर्माणाधीन छ।
यस परियोजनामा करिब १,५०० जना लगानीकर्ताको सहभागिता रहेको छ। सञ्चालकहरूको भनाइमा यसले बन्दीपुरलाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्नेछ।
