धरानमा किराँत राई समुदायको महान् चाड साकेला उभौली उल्लासका साथ मनाइएको छ। धरान उपमहानगरपालिका–१७ स्थित साकेला पार्कमा ढोल, झ्याम्टा र मौलिक भेषभूषासहित युवायुवतीहरूको बाक्लो उपस्थितिमा साकेला समापन कार्यक्रम भइरहेको छ।
साकेला थानमा पूजा–आराधनापछि सहभागीहरू गीतको तालमा साकेला सिली नाच्दै प्रकृतिप्रति सम्मान व्यक्त गरिरहेका छन्। उभौली चाडलाई प्रकृतिपूजक किराँत समुदायले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि मनाउने परम्परा रहेको छ।
मौलिक पहिरन र गरगहनामा सजिएका युवायुवतीहरूले ढोल–झ्याम्टाको तालमा चराचुरुङ्गी तथा जीवजनावरका गतिविधि झल्काउने शैलीमा नृत्य प्रस्तुत गरेका छन्। युवापुस्ताको सक्रिय सहभागिताले साकेला संस्कृतिप्रतिको आकर्षण अझ बढेको देखिएको छ।
साकेला प्रशिक्षक विवेक राईका अनुसार पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो परम्पराले संस्कृति, सामूहिकता र प्रकृतिसँगको सम्बन्धलाई जोगाइराखेको छ। किराँत राई यायोक्खा सुनसरीको आयोजनामा विभिन्न वडास्तरीय कार्यक्रम सम्पन्न गर्दै यस वर्षको साकेला उभौली समापन गरिएको हो।
उभौली पर्वलाई किराँत समुदायका विभिन्न जातिले फरक–फरक नामले चिन्ने गरेका छन्। यस चाडले खेतीपाती, प्रकृतिपूजा, मौसम परिवर्तन र सामूहिक एकताको सन्देश दिने विश्वास गरिन्छ।
