काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट मध्यराति फरार भएकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असन क्षेत्रबाट पक्राउ गरेको हो।
चोरी तथा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेकी तामाङ शुक्रबार राति करिब १ बजे कारागारबाट फरार भएकी थिइन्। कारागार प्रशासनका अनुसार उनले भुईँमा केही सामग्री ओछ्याएर पर्खाल नाघ्दै भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
यसअघि जेनजी आन्दोलनका क्रममा पनि उनी कारागारबाट फरार भएकी थिइन्। त्यसबेला दुई महिनापछि पुनः पक्राउ परेकी तामाङ यसपटक भने भागेको तीन दिनमै प्रहरी नियन्त्रणमा आएकी हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
