राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग संगठनात्मक विषयमा छलफल गरेका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा मधेश प्रदेशमा पार्टीको आन्तरिक गतिविधि र प्रदेश अधिवेशन सञ्चालनसम्बन्धी विषयमा विचारविमर्श भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ।
पार्टी संगठन विस्तार तथा प्रदेश संरचनासँग सम्बन्धित विषयमा सांसदहरूसँग सुझाव लिने उद्देश्यले छलफल गरिएको बताइएको छ।
रास्वपाले हालसम्म मधेश प्रदेशका कुनै पनि जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छैन। आन्तरिक असहमतिका कारण प्रदेशस्तरीय अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको पार्टी स्रोतले जनाएको छ।
