अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दसहित चार पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी र लेखापाल युवराज भट्टलाई प्रतिवादी बनाउँदै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
आयोगको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७७-७८ मा ठूलीगाड र कापडीगाड क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी ठेक्का व्यवस्थापन गर्दा गाउँपालिकाले प्राप्त गर्नुपर्ने राजस्वमा हानि पुर्याउने गरी प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।
वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको सम्भावित उत्खनन तथा राजस्व संकलन क्षमतालाई बेवास्ता गर्दै ठेक्का रकम अस्वाभाविक रूपमा घटाइएको, प्रतिस्पर्धा सीमित हुने गरी सूचना प्रकाशन गरिएको र न्यून मूल्यमा सम्झौता गराइएको आयोगको आरोप छ।
आयोगका अनुसार सम्झौताअनुसार गाउँपालिकाले प्राप्त गर्नुपर्ने राजस्व तथा मूल्य अभिवृद्धि कर (भ्याट) सहित १४ लाख १० हजार २४० रुपैयाँ रकम राज्यकोषमा दाखिला नभएको देखिएको छ।
तत्कालीन अध्यक्ष चन्द, उपाध्यक्ष बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत जैशी र लेखापाल भट्टविरुद्ध उक्त रकम बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ।
त्यस्तै, उक्त प्रक्रियामा संलग्न अन्य कर्मचारी तथा ठेक्का लिने पक्षविरुद्ध पनि आयोगले कानुनी कारबाही अघि बढाएको जनाएको छ।
आयोगका अनुसार सम्बन्धित प्रतिवादीहरूमाथि अनुसन्धान पूरा गरी विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको हो।
