झापा । झापाको अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगार मेलामार्फत २८५ जना बेरोजगार युवाले प्रत्यक्ष रोजगारी पाएका छन्। अर्जुनधाराबाट १२१ जना र बिर्तामोडबाट १६४ जना विभिन्न क्षेत्रमा रोजगारीमा आबद्ध भएका हुन्।
अर्जुनधारा नगरपालिकाले आयोजना गरेको तीनदिने रोजगार मेलामा वेटर, कुक, सेक्युरिटी गार्ड, शिक्षक, केयरगिभर, पसल कर्मचारी, लोड–अनलोड कर्मचारीलगायत विभिन्न क्षेत्रमा युवाहरूलाई रोजगारी प्रदान गरिएको छ। साथै, ब्युटिसियन, कम्प्युटर, इलेक्ट्रिसियन, बेकरी, बारिस्तालगायतका सीपमूलक तालिम पनि सञ्चालन गरिएको थियो।
यस्तै, बिर्तामोड नगरपालिकाको रोजगार मेलामा एक हजार ७६ जनाले आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक चरणमै १६४ जना विभिन्न रोजगारदाता संस्थामा आबद्ध भएका छन् भने बाँकी आवेदकलाई योग्यता र सीपका आधारमा रोजगारीसँग जोड्ने प्रक्रिया जारी रहेको जनाइएको छ।
स्थानीय सरकार, उद्योग–व्यवसायी र निजी क्षेत्रको सहकार्यमा सञ्चालन भएका यस्ता रोजगार मेलाले बेरोजगारी न्यूनीकरण र स्थानीय आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
