कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् ।
घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन र आपूर्ति प्रणाली प्रभावित भएपछि यसको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत पर्न सक्ने देखिएको छ ।
रस लाफान औद्योगिक क्षेत्रमा अवस्थित ग्यास सुविधामा युद्धका कारण रोकिएको उत्पादन पुनः सञ्चालन गर्ने काम भइरहेका बेला विस्फोट भएको हो । युद्धका क्रममा इरानको आक्रमणपछि प्रभावित बनेको उक्त क्षेत्रमा कामदारहरू मर्मत तथा पुन:सञ्चालनको काममा जुटिरहेका थिए ।
कतार एनर्जीका अनुसार बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटपछि आगलागी फैलिएको थियो । प्रारम्भिक विवरणमा केही व्यक्तिमात्र घाइते भएको जनाइएको भए पनि केही घण्टापछि कतारको गृह मन्त्रालयले घाइतेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पुष्टि गरेको छ । बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
विस्फोटबाट भएको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन । यद्यपि, उक्त घटनाले कतारको ऊर्जा पूर्वाधारमा पुनः गम्भीर असर पारेको आशंका गरिएको छ ।
इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण कडा बनाएपछि कतारले केही समयअघि ग्यास उत्पादन र निर्यात गतिविधि रोकेको थियो । त्यसका कारण आफ्ना अन्तर्राष्ट्रिय ग्राहकसम्म ग्यास आपूर्ति गर्न कठिन भएपछि उत्पादन स्थगित गरिएको थियो । पछिल्लो समय युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अगाडि बढ्दै जाँदा इरानले जलघाँटीमा आफ्नो नियन्त्रण केही खुकुलो पारेपछि कतारले पुनः निर्यात सञ्चालन गर्ने तयारी थालेको थियो ।
बार्जान ग्यास प्लान्टको दैनिक उत्पादन क्षमता करिब एक अर्ब ४० करोड मानक घनफिट बिक्रीयोग्य ग्यास रहेको थियो । उक्त ग्यास मुख्यतः घरेलु विद्युत् उत्पादन तथा अरब प्रायद्वीपका मरुभूमि क्षेत्रमा सञ्चालन हुने महत्त्वपूर्ण पानी प्रशोधन तथा डिसेलिनेसन केन्द्रहरू सञ्चालन गर्न प्रयोग हुँदै आएको छ ।
उक्त प्लान्टको अधिकांश स्वामित्व कतारसँग रहेको छ भने अमेरिकी ऊर्जा कम्पनी एक्सोनमोबिलको पनि सानो हिस्सेदारी रहेको छ । घटनापछि कम्पनीसँग प्रतिक्रिया मागिए पनि तत्काल कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।
यसअघि मार्च महिनामा इरानले प्रहार गरेको एक क्षेप्यास्त्र रस लाफान क्षेत्रमा खसेर ठूलो आगलागी भएको थियो । अधिकारीहरूका अनुसार त्यस घटनाले व्यापक क्षति पुर्याएको थियो । त्यही आक्रमणपछि कतारले उक्त क्षेत्रमा उत्पादन गतिविधि रोक्न बाध्य भएको थियो ।
कतार र इरानले पर्सियन खाडीमा अवस्थित विशाल अपतटीय प्राकृतिक ग्यास क्षेत्र साझा गर्दै आएका छन् । यही प्राकृतिक ग्यास भण्डारले कतारलाई विश्वकै धनी राष्ट्रहरूमध्ये एक बनाएको छ । ऊर्जा आम्दानीकै आधारमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गरेको थियो भने अल जजीरा समाचार सञ्जालको स्थापना तथा विभिन्न अन्तर्राष्ट्रिय कूटनीतिक मध्यस्थतामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
हालको विस्फोटले कतारको ऊर्जा उत्पादन, निर्यात क्षमता र विश्व ग्यास बजारको आपूर्ति प्रणालीमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ । युद्धपछिको पुन:स्थापनाको प्रयास भइरहेका बेला भएको यो दुर्घटनाले क्षेत्रीय अस्थिरताको असर ऊर्जा पूर्वाधारमा अझै कायम रहेको संकेत गरेको छ ।
