दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको सांगेतडा क्षेत्रमा यात्रुवाहक हाइस दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारीअनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क ०२–००१ ख १०५५ नम्बरको हाइस कर्णाली नदीमा खसेको हो।
दुर्घटना दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ मा भएको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ऋषिकेश गौतमका अनुसार प्रहरीको एक टोली घटनास्थल पुगिसकेको छ भने डिएसपी श्रवणकुमार विकको नेतृत्वमा अर्को टोली पनि घटनास्थलतर्फ गइरहेको छ।
उनका अनुसार अछामतर्फ रहेका स्थानीय बासिन्दाले हाइस कर्णाली नदीमा खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुर्घटनास्थलबाट नदी करिब तीनदेखि चार सय मिटर तल रहेको बताइएको छ।
हालसम्म दुर्घटनाको कारण, हाइसमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन। प्रहरीले उद्धार तथा खोजी कार्य जारी रहेको जनाएको छ।
