मुम्बई — बलिउड सुपरस्टार सलमान खान आफ्ना अत्यन्त नजिकका मित्र सुशील कुमारको निधनपछि गहिरो शोकमा परेका छन्। करिब ४२ वर्षदेखिको मित्रता टुटेपछि सलमानले सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै सुशीललाई साथी मात्र नभई भाइजस्तै बताएका छन्।
सलमानले आफ्नो पोस्टमा पिता सलीम खान र सुशीलसँगका पुराना तस्बिरहरू पनि साझा गर्दै उनीसँगका सम्झनाहरू ताजा गरेका छन्। उनका अनुसार सुशील अत्यन्तै दयालु, सहयोगी र सकारात्मक सोच भएका व्यक्ति थिए।
सलमानले सुशीलको जीवनप्रतिको संघर्षशील स्वभावको प्रशंसा गर्दै उनलाई “वास्तविक योद्धा” को संज्ञा दिएका छन्। आर्थिक समस्या, भावनात्मक पीडा वा स्वास्थ्य समस्या जस्तोसुकै कठिन परिस्थितिमा पनि उनी सधैं मुस्कुराइरहने गरेको सलमानले उल्लेख गरेका छन्।
“उनी सधैं भन्थे— केही फरक पर्दैन, सबै ठिक हुनेछ,” सलमानले लेखेका छन्। उनले सुशीलको निधनलाई जीवनको कठोर सत्यसँग जोड्दै कोही ढिलो र कोही चाँडो जाने यथार्थ स्वीकार गर्नुपर्ने बताएका छन्।
सलमानले सुशीललाई निकै मिस गर्ने भन्दै उनको मुस्कान र सकारात्मकता सधैं सम्झिरहने बताएका छन्।
अहिले सलमान खान आफ्नो आगामी फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पीस’ को तयारीमा व्यस्त छन् भने रितेश देशमुखको फिल्म ‘राजा शिवाजी’ मा उनको केमियो भूमिकाको पनि चर्चा भइरहेको छ।
