सुनसरी । देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारीको समन्वयमा शान्ति, सुरक्षा, सामाजिक सद्भाव कायम गर्ने तथा पीडित पक्षलाई न्याय सुनिश्चित गर्ने विषयमा संयुक्त बैठक बोलाइएको छ।
बैठकमा सुनसरीका प्रतिनिधिसभा सदस्य, संघ तथा प्रदेशसभा सदस्य, प्रमुख राजनीतिक दलका प्रतिनिधि, पालिकाका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा तथा देवानगञ्ज गाउँपालिकाका राजनीतिक दलका प्रमुखहरूको सहभागिता रहने जनाइएको छ।
गत साउन १० गते देवानगञ्ज गाउँपालिकामा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। सो घटनापछि शान्ति सुरक्षा कायम गर्दै समस्या समाधानका लागि सबै पक्षबीच छलफल गर्न बैठक आह्वान गरिएको हो।
