चैतको पहिलो सातामा होर्मुज क्षेत्रबाट इरानी सेनाको नियन्त्रणमा परेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार, झा रिहा भएको औपचारिक जानकारी सरकारी संयन्त्रमार्फत प्राप्त भएको हो। उनले जनध्वनि अनलाइनसँग कुरा गर्दै भने, “उहाँ रिहा भएको जानकारी हामीले पाएका छौं। इरानमा रहेका हाम्रा कन्सुलरमार्फत उक्त पुष्टि भएको हो।”
खनालका अनुसार, झा हाल इरानको केश्म आइल्याण्ड (समुन्द्री टापु) मा सुरक्षित अवस्थामा रहेका छन्। “उहाँ अहिले केश्म टापुमा सुरक्षित हुनुहुन्छ र उहाँसँग हाम्रा कन्सुलरहरू निरन्तर सम्पर्कमा छन्,” उनले बताए।
अमृत झालाई इरानमा तेल बोकेर फर्किने क्रममा होर्मुज क्षेत्रअन्तर्गत बन्दर अब्बास बन्दरगाह नजिकैबाट इरानी रिभोल्युशनरी गार्डले नियन्त्रणमा लिएको थियो।
दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत थिए। उनीसँगै केही भारतीय नागरिक पनि नियन्त्रणमा परेका थिए।
