प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेको भारतीय नम्बर प्लेटको जिप सडकबाट करिब २५–३० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परी २१ जना घाइते भएका छन्। घाइते हुनेहरूमा ५ जना बालबालिका समेत रहेका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी प्राथमिक उपचारका लागि भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो।
स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि गम्भीर घाइते भएका १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। ओरालो र घुम्ती बाटोका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
