कक्षा १२ को जारी वार्षिक परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रहरूमा गम्भीर लापरबाही भएको भन्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले राष्ट्रिय परीक्षा बोर्डमा ज्ञापनपत्र बुझाएको छ। सङ्घका कार्यवाहक अध्यक्ष नवीन पौडेल नेतृत्वको टोलीले सानोठिमीस्थित बोर्डको कार्यालय पुगेर महाशाखा प्रमुख तथा प्रवक्ता जयन्ती सत्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै परीक्षा व्यवस्थापनमा देखिएको गैरजिम्मेवारपूर्ण गतिविधिप्रति कडा आपत्ति जनाएको हो। नेविसंघले यस्ता घटनाले विद्यार्थीहरूको मौलिक शैक्षिक अधिकार र भविष्यमाथि प्रत्यक्ष प्रहार गरेको ठहर गरेको छ।
ज्ञापनपत्रमा विशेषगरी चितवनको इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा भएको घटनालाई मुख्य रूपमा उठाइएको छ। विवरणअनुसार नेपाली विषयको परीक्षाका क्रममा सुनगाभा कलेजका विद्यार्थीहरूमाथि निकै अन्यायपूर्ण व्यवहार भएको पाइएको छ। प्रश्नपत्र छपाइमा भएको ढिलाइका कारण निर्धारित समयभन्दा ढिलो अर्थात् बिहान ८:३१ बजे मात्र परीक्षा सुरु गरिएको थियो। नियमअनुसार विद्यार्थीले पूर्ण ३ घण्टा समय पाउनुपर्नेमा निर्धारित समयभन्दा १७ मिनेट अगावै अर्थात् बिहान ११:१३ बजे नै उत्तरपुस्तिका सङ्कलन गरिएको भन्दै नेविसंघले आक्रोश पोखेको छ। पर्याप्त समय नपाउँदा विद्यार्थीहरूले आफ्नो पूर्ण क्षमता अनुसार उत्तर लेख्न नपाएको र यसले उनीहरूको नतिजामा गम्भीर असर पर्ने सङ्गठनको दाबी छ।
नेविसंघले यस घटनामा संलग्न दोषी कर्मचारी तथा परीक्षा केन्द्रका पदाधिकारीमाथि तत्काल कडा कानुनी कारबाही गर्न र पीडित विद्यार्थीहरूलाई न्याय दिलाउन जोडदार माग गरेको छ। ज्ञापनपत्रमार्फत सङ्घले प्रश्नपत्र वितरणमा हुने प्राविधिक ढिलाइ अन्त्य गर्न, प्रभावकारी अनुगमन प्रणालीको विकास गर्न र आगामी परीक्षाहरूमा पूर्ण पारदर्शिता सुनिश्चित गर्न बोर्डलाई सचेत गराएको छ। परीक्षा जस्तो संवेदनशील विषयमा हुने यस्ता प्रशासनिक कमजोरीले समग्र शिक्षा प्रणालीकै विश्वसनीयतामा प्रश्न उठाएको भन्दै नेविसंघले तत्काल सुधारका कदम नचालिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।
