थाइल्याण्डको मन्त्रिपरिषद्ले विश्वव्यापी ऊर्जा संकटबाट उत्पन्न आर्थिक असर न्यूनीकरण गर्न र स्वच्छ ऊर्जातर्फको संक्रमणलाई तीव्र बनाउन ४०० अर्ब भाट (करिब १२.२ अर्ब अमेरिकी डलर) सम्मको आपत्कालीन ऋण लिने मस्यौदा अध्यादेश स्वीकृत गरेको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री अनुटिन चर्नविराकुलले मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा मूल्यमा वृद्धि भएको र आर्थिक गतिविधिमा अवरोध सिर्जना भएको बताए। उनले ऊर्जा संकटका कारण खाद्यान्न मूल्य समेत बढेको उल्लेख गर्दै यसले नागरिकको जीवनयापन लागतमा ठूलो चाप पारेको बताए।
प्रधानमन्त्रीका अनुसार उच्च मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिको अवस्था अर्थात् ‘स्ट्यागफ्लेसन’ बाट देशको अर्थतन्त्र जोगाउन यो कदम आवश्यक भएको हो। सरकारले ल्याएको अध्यादेशले संकट व्यवस्थापनसँगै वित्तीय अनुशासन कायम गर्दै आर्थिक जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखेको जनाएको छ।
