कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-५ स्थित लोकप्रिय पेट्रोल पम्प नजिकै एउटा भयानक सवारी दुर्घटना भएको छ। तीव्र गतिमा रहेको एक टिपरले दुईवटा ई-रिक्सालाई ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार लु १ क ३१२९ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेका लु.प्र.०१-००१ ह १७८६ र लु.प्र.०२-००१ ह ०२२२ नम्बरका दुईवटा ई-रिक्सालाई ठक्कर दिएको थियो। ठक्कर यति शक्तिशाली थियो कि ई-रिक्साहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
दुर्घटनामा घाइते भएका १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि बुटवल पठाइएको छ। हाल उनीहरूको बुटवल अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रुपन्देही जिल्ला, शुद्धोधन गाउँपालिका-०७, भगलापुर बस्ने २८ वर्षीय जितेन्द्र थारु रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
