जनध्वनि
ललितपुर — ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य र हितलाई केन्द्रमा राखेर महानगरले विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरे।
महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवित अवस्थामै रथारोहण गराइएको, उहाँको नाममा सिक्का र हुलाक टिकट प्रकाशन गरिएको तथा सुरक्षा र यातायातको व्यवस्था मिलाइएको स्मरण गरे। साथै, हालै १०५ वर्षीया मनोमाया महर्जनको पाँचौँ जङ्कु सम्पन्न गरिएको जानकारी पनि दिए।
महानगरले ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ चाडपर्व खर्च उपलब्ध गराउँदै आएको उनले बताए। त्यस्तै, ६८ वर्ष माथिका नागरिकलाई निमोनियाविरुद्ध निःशुल्क खोप दिने कार्यक्रम पनि सञ्चालनमा रहेको उल्लेख गरे।
भोटो जात्रा अवलोकनका लागि जङ्कु गरिसकेका ज्येष्ठ नागरिकलाई विशेष दीर्घा व्यवस्था गरिएको समेत उनले जानकारी दिए।
