जनध्वनि
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनुभएको छ।
कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड दिनुभयो। उहाँले राज्यशक्तिको केन्द्र कार्यकारिणीमा सीमित रहेको अवस्थाबाट शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा व्यवहारिक रूपमा स्थापित हुँदै आएको उल्लेख गर्नुभयो।
राष्ट्रपतिले वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिकालाई सुनिश्चित गरेको बताउँदै यी मूल्यहरू आत्मसात गर्न सके मात्र समृद्ध नेपाल सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
उहाँले न्यायपालिकाप्रति जनआस्था बढाउन र नागरिकलाई छिटो तथा छरितो न्याय उपलब्ध गराउन आवश्यक सुधारको खाँचो रहेको पनि औँल्याउनुभयो। साथै, संविधानको मर्मअनुसार नयाँ कानुन निर्माण र प्रचलित कानुनको समयानुकूल परिमार्जन आवश्यक रहेको बताउनुभयो।
राष्ट्रपतिले आधुनिक प्रविधिको प्रयोगमार्फत न्यायमा सहज पहुँच, मुद्दाको छिटो व्यवस्थापन र न्यायिक मूल्य–मान्यताको संरक्षणमा जोड दिँदै कानून दिवसले सबैमा सकारात्मक सोच र प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
