चलचित्र विकास बोर्डअन्तर्गतको आधिकारिक ‘सिनेपा: @बक्सअफिस’ प्रणालीले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालभर प्रदर्शनरत स्वदेशी चलचित्रहरूमध्ये ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ। बोर्डले प्रत्येक साता सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टअनुसार जेठ ३१ गते आइतबार राति ११:५९ बजेसम्मको विवरण सार्वजनिक गरिएको हो।
तथ्यांकअनुसार ‘लालीबजार’ ले हालसम्म ३ लाख ११ हजार ४०३ टिकट बिक्री गर्दै रु. ९ करोड ९६ लाख ६५५.७७ को व्यापार गरेको छ। टिकट बिक्री र आम्दानी दुवैमा यो चलचित्र पहिलो स्थानमा रहेको छ।
दोस्रो स्थानमा रहेको ‘रोल नं. १’ ले ४७ हजार १५१ टिकट बिक्री गर्दै रु. १ करोड ३५ लाख १५ हजार ९९३ आम्दानी गरेको छ। त्यसैगरी ‘मितज्यू’ ले ४६ हजार १५४ टिकट बिक्री गरी रु. १ करोड ३२ लाख ५३ हजार ३४२.२८ आम्दानी गरेको तथ्यांकमा उल्लेख छ।
हालै प्रदर्शनमा आएको ‘काजी’ ले १४ हजार ३२४ टिकट बिक्री गर्दै रु. ४४ लाख ४८ हजार ६० कमाइ गरेको छ।
यस्तै, ‘लाइफ ड्यामेज’ ले ११ हजार ३७९ टिकट बिक्री गरी रु. ३४ लाख ६६ हजार २९० आम्दानी गरेको छ भने ‘कुष्मे’ ले १ हजार ६७१ टिकट बिक्री गर्दै रु. ३ लाख १९ हजार १० व्यापार गरेको छ।
