प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले मध्यरातमा ४ वर्ष पुरानो तस्बिर सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।
शर्माले ‘प्रतिष्ठीत व्यवसायी चन्द्र ढकालसँग’ भन्दै मंगलवार मध्यरातमा त्यो पनि ४ बर्ष पुरानो तस्बिर सार्वजनिक गरेपछि यसभित्रको अन्तर्यबारे चौतर्फी चासो एवम् चर्चा सुरु भएको हो।
अनुसन्धानका क्रममा सम्पत्ति शुद्धिकरण विभागले पूर्व अर्थमन्त्री बिष्णु पौडेललाई पक्राउ गरेसँगै शर्मा पनि पक्राउ पर्दैछ्न् भन्ने बिषय एकाएक फैलियो। त्यसपछि उनले एकाएक ढकालसँगको पुरानो सम्बन्ध देखिने तस्बिर सार्वजनिक गरे। शर्माले आफ्नो आधिकारिक फेसबुकमार्फत् सार्वजनिक गरेको सो तस्बिर केवल एउटा पुरानो सम्झना थियो कि सरकारलाई कुनै सन्देश ? किन ४ बर्ष पुरानो तस्बिर अहिले ? पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि नै किन ? यी विविध प्रश्न यतिबेला चर्चामा छन्।
प्रभावशाली राजनीतिक र व्यावसायिक पात्रहरूमाथि पनि अनुसन्धानको चर्चा चलिरहेका बेला शर्माले चन्द्र ढकालसँगकै तस्बिर सार्वजनिक किन गरे ? भन्ने बिषयमाथि व्यवसायीक एवम राजनीतिक वृत्तमा विभिन्न कोणबाट आँकलन एवम् बिश्लेषण गरिएको छ।
यसबारे अनेक अनुमान एवम् आँकलन गरिएपनि एउटा तथ्य भने निर्विवाद देखिएको छ त्यो हो – ‘नेपालमा जुन पार्टीको सरकार आओस् , सत्ता जतिपटक परिवर्तन होस्, तर केही सीमित व्यवसायिक घरानाको पहुँच कहिल्यै कमजोर हुँदैन।’ तीमध्येका सबैभन्दा चर्चित तर विवादित व्यापारी हुन् , चन्द्रप्रसाद ढकाल।
विगत दुई दशकमा देशमा राजतन्त्रदेखि गणतन्त्रसम्म, कांग्रेसदेखि एमाले र माओवादी हुँदै नयाँ राजनीतिक शक्तिहरूको उदयसम्म भयो । कयौँ पटक सरकार फेरिए, प्रधानमन्त्री फेरिए, गठबन्धन पनि फेरियो। तर चन्द्र प्रसाद ढकालको सत्ता शक्ति, राजनीतिक प्रभाव र पहुँच भने कहिल्यै कमजोर भएको देखिएन। जुनसुकै सरकार आओस् – पहुँच बिस्तार गरिहाल्छन् उनी।
जनार्दन शर्माले मध्यरातमा सार्वजनिक गरेको उनीसहितको तस्बिरले पनि यही प्रश्नको गाम्भिर्यता उठान गरेको देखिन्छ।
किन हरेक शक्तिकेन्द्रसँग ढकालको निकटता रहन्छ ? किन हरेक राजनीतिक धारका नेताहरूसँग उनको सहज पहुँच छ ? किन विवादका अनेक आरोप सार्वजनिक हुँदासमेतउनी कहिल्यै कानुनी कठघरासम्म पुग्दैनन् ? यो प्रश्नले यतिबेला शुसासनको जडमा बनेको भनिरहेको सरकारमाथि नै प्रतिप्रश्न गरिरहेको छ।
रेमिट्यान्सका नाममा अवैध हुन्डी कारोबारदेखि विदेशमा गरिएका अवैध लगानी, नीतिगत प्रभावमा व्यापारिक साम्राज्य विस्तार, सत्तासँगको पहुँचका आडमा देशभरका सार्वजनिक तथा सरकारी सम्पत्तिमा कौडीको मूल्यमा हत्याएको प्रकरण लगायतका आरोप ढकाल र उनका कम्पनीमाथि बर्षौदेखी लाग्दै आएका छन्। यससम्बन्धमा राज्यकै विभिन्न अनुसन्धानात्कम निकायमा उजुरी समेत परेका पनि छन्। तर, ढकाल समूहमाथिका आरोप माथी नत अनुसन्धान गरिएको छ नत सार्वजनिक रुपमै उठेका प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको देखिन्छ। न अनुसन्धान थालिएका प्रकरण निष्कर्षमा पुर्याईएको छ।
जसका कारण पुराना सत्ता निकट मानिएका व्यवसायीहरूलाई एकपछि अर्को गर्दै अनुसन्धानको दायरामा ल्याईदा विवादै विवादमा तानिएका व्यापारी चन्द्र ढकाल र उनको समूह सधैं सुरक्षित किन छ ? किन उनीहरू हरेक सरकारका प्रिय पात्र बनेर उभिन्छन् ? भन्ने प्रश्नले प्रसय पाएको छ।
यदि माओवादी पार्टीका नेता जनार्दन शर्माले साँच्चिकै ढकालसँगको तस्बिरमार्फत् कुनै सन्देश दिन खोजेका हुन् भने त्यो सन्देश व्यक्तिगतरूपमा भन्दा पनि नेपालको राजनीतिक एवम् प्रशासनिक शक्ति संरचनाबारे लुकेको तथ्य उजागर देखिन्छ।
यस प्रकरणले राजनीतिक दलहरू फरक हुन सक्छन्, सरकार फरक हुन सक्छन्, दलका विचारधारा पनि फरक हुन सक्छन्, तर शक्तिको नजिक रही सत्तामा पहुँच बनाएका केहि पात्रहरू भने सधैं सुरक्षित रहन्छन् भन्ने बिषयलाई उजागर गर्न खोजेको देखिन्छ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) नेतृत्व गरिएको नयाँ सरकारले सुशासनका निमित्त भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेको दाबी गरिरहेको छ। तर, सरकारको यो अभियानप्रति विश्वसनीयता तब मात्र हुन्छ, जब पहुँच र प्रभावका आधारमा कसैलाई संरक्षण गरिँदैन।
राजनीतिक कनेक्सन एवम् कित्ता छुट्याएर प्रतिसोधपूर्ण देखिने गरि गरिएको अनुसन्धानले सरकारप्रतिको विश्वसनीयता कमजोर हुने जोखिम रहिरहन्छ।
यसले नेपालमा सरकार बदलिन्छ, सरकारका मन्त्री बदलिन्छन्, दल बदलिन्छन्, तर सत्ता र शक्तिको आडमा लाभ उठाउने सीमित व्यवसायिक समूह कहिल्यै बदलिँदैनन् भन्ने मान्यताले सार्थकता पाउने देखिन्छ।
त्यसकारण पनि विवादित व्यापारी चन्द्र ढकालमाथि लागेका आरोप एवम् उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने आवाज उठिरहेको छ।
कानुनी राज्यमा कुनै एक व्यक्ति पैसा, पावर, पद, राजनीतिक पहुँच वा सत्ता निकट शक्ति या सम्बन्धका कारण प्रश्नभन्दा माथि हुन सक्दैन। यदि राज्य स्वयम् यो यथार्थभन्दा बाहिर जान्छ र मनोमानी पूर्ण ढङ्गबाट अनुसन्धानात्मक कारबाही गर्छ भने सुशासन स्थापनार्थ भ्रष्टाचारविरुद्ध अभियान सफल हुने सम्भाना रहँदैन।
किन सुरक्षित छन् ढकाल ?
ढकालका छोरी ज्वाइँ प्रधानमन्त्री कार्यलयमा छन्। उनी बालेनका अतिविश्वास पात्र हुन्। त्यस्तै , ढकालका छोरा पनि प्रधानमन्त्री बालेन्द्र साहका साथी हुन्। हालै सप्पन्न प्रतिनिधि सभा निर्वाचनमा ढकालका छोरालाई मन्त्री बनाउने योजनासहित समानुपातिक सांसदको सूचीमा प्राथमिकताका साथ राखिएको थियो। तर सांसद बन्नका लागि आवश्यक पर्ने उमेर नै नपुगेपछि उनी सांसद बन्न पाएनन्। छोरालाई सत्तामा पुर्याउने ढकालको योजनामा ब्रेक लाग्यो।
यद्यपि , विवादै विवादका बीच पनि चन्द्र ढकालले नयाँ सरकारको “राज्य संयन्त्र” भित्र ज्वाइँको प्रत्यक्ष पहुँच, नयाँ राजनीतिक शक्तिसँग छोराकै निकटतम सम्बन्ध र व्यवसायिक प्रतिस्पर्धाका प्रतिद्वन्द्वीमाथि समेत कारबाही गराउन सक्ने हैसियत बनाएको देखिन्छ। यसको ज्वलन्त उदाहरणमा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतमाथिको कारबाहीलाई हेरिएको छ।
जसकारण पनि ढकालमाथि न त अनुसन्धान हुन्छ न कुनै कानुनी कारबाही। सादा झैँ उनी यो सरकारबाट पनि सुरक्षित रहेको चर्चा व्यापक छ।
सुशासनका स्थापनाका नाममा ‘राजनीतिक नेक्सस’ खोजीखोजी व्यवसायीमाथि आक्रामक देखिएको सरकारको कार्यशैलीले एउटा तीतो यथार्थ उजागर गरिदिएको छ। ‘नेपालमा सत्ता फेरिन्छ। सरकार पनि बदलिँन्छ तर, सत्ताको छायाँमा हुर्किएको पहुँचवालाको अपराधिक साम्राज्य कहिल्यै बदलिँदैन’
