किएभ । रुसले युक्रेनको राजधानी किएभमा गरेको भीषण मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार राष्ट्रपतिले रुसबाट ठूलो आक्रमण हुन सक्ने चेतावनी दिएको केही घण्टामै राजधानीका विभिन्न स्थानमा लगातार विस्फोट भएका थिए। आक्रमणपछि धेरै भवनमा आगलागी भएको र उद्धार टोलीले घाइते तथा फसेकाहरूको उद्धार कार्य जारी राखेको जनाएको छ।
रुसले भने आफ्नो आक्रमण ऊर्जा पूर्वाधार र सैन्य संरचनालाई लक्षित गरेको दाबी गरेको छ। तर युक्रेनी अधिकारीहरूले आवासीय क्षेत्रमा समेत मिसाइल र ड्रोन प्रहार गरी सर्वसाधारण नागरिकको ज्यान लिएको आरोप लगाएका छन्।
आक्रमणपछि किएभका विभिन्न क्षेत्रमा आपत्कालीन सेवा परिचालन गरिएको छ भने क्षतिको विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्। पछिल्ला महिनाहरूमा रुसले युक्रेनका प्रमुख सहरहरूमा मिसाइल र ड्रोन आक्रमण तीव्र बनाउँदै आएको छ।
