सुटबुटमा ठाँटिएर स्कुल जाने विद्यार्थी त धेरैले देख्नु भएको होला ? तर, जेठ–असारको टन्टलापुर घाममा पनि खाली खुट्टामै विद्यालय जाने विद्यार्थी भने बाँकेमा छन्। शुक्रबार मध्याह्न नेपालगन्ज–सुइँया हुलाकी राजमार्ग हुँदै संवाददाता नरैनापुर पुग्दा एक हुल विद्यार्थी घर फर्कंदै थिए। १५ विद्यार्थीमध्ये ८ जना खाली खुट्टामा थिए। ७ जनाले चप्पल लगाएका थिए। कसैको खुट्टामा पनि जुत्ता थिएन। अधिकांश साधारण चप्पलमा थिए।
नरैनापुर गाउँपालिका–४ नरैनापुरमा रहेको मदरसा अरबिया गुल्सने वारिस नामक मदरसाको बालविकास कक्षामा अध्ययनरत २५ विद्यार्थीमध्ये धेरै जनासँग जुत्ताचप्पल छैन। खाली खुट्टा आउजाउ गर्छन्। बाँकेमा हाल ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम छ। १० बजेपछि नै तातो हावा (लू) चल्न सुरु हुन्छ। मध्याह्न १२ बजेतिर त खपिनसक्नु गर्मी हुन्छ। चुल्होमा तात्तिएको तातो तावाजस्तो भएको कालोपत्रे सडक हुँदै विद्यार्थी खाली खुट्टा आत्तिँदै घर फर्कन्छन्। यो उनीहरूको दैनिकी नै बनेको छ। उनीहरूले बिहान ८ बजे स्कुल आउँदा धर्ती चिसो हुने भए पनि १२ बजे घर फर्र्कंदा गर्मीले खुट्टा पोल्ने प्रतिक्रिया दिए। खाली खुट्टामा हुने अधिकांशले आपूmले अहिलेसम्म जुत्ताचप्पल नलगाएको पनि बताए। सबै हतारहतार जाँदै थिए। साथसाथैमा थिइन्, बाल विकासकी शिक्षिका प्र्रीतिकुमारी बानियाँ। शिक्षिका बानियाँले जुत्ताचप्पल नभएर नै धेरैले नलगाएको बताइन्।
‘कति विद्यार्थीको परिवार जुत्ताचप्पल किन्ने हैसियतका पनि छैनन्। आधाभन्दा कमले मात्र चप्पल लगाउँछन्’, उनले प्र्रस्ट पारिन्। नरैनापुर र नौैसाहारा गाउँका विद्यार्थीको विद्यालयदेखि चार पाँच सय मिटरको दूरीमा घर छ। हुलाकी राजमार्ग हुँदै, कि त खेतखेतै घर जानुपर्छ। खाली खुट्टा हिँड्दा उनीहरूले सास्ती भोग्नुपर्छ। त्यसो त मदरसामा बाल विकासका मात्र होइन, अरु कक्षाका केही विद्यार्थी खाली खुट्टामा आउँछन्। ‘बहुत गरिब छन् सर। जुत्ताचप्पल किन्नै सक्दैनन्’, मदरसाका प्र्रधानाध्यापक अब्दुल रहमानले भन्छन्, ‘हामीले विद्यार्थीलाई जुत्ताचप्पल लगाएर आउन भन्छौं। अभिभावकलाई पनि किन्न भनेका छौं। पैसा नभएरै नकिनेका हुन् कि ? ’
जुत्ताचप्पल चोरी हुने डरले पनि कति अभिभावक खाली खुट्टा विद्यालय पठाउँछन्। कतिले एक पटक चोरी भएमा वा हराएपछि अर्को पटक जुत्ताचप्पल नै किन्दैनन्। संस्थागत विद्यालयमा जुत्तामा पालिस नलगाउँदा, आइरनबिनाको ड्रेस हुँदा र बारअनुसारको कपडा र जुत्ता नलाउँदा विद्यार्थीलाई जरिवाना गरिन्छ। घर फिर्ता पनि पठाइन्छ। यो मदरसाका विद्यार्थी खाली खुट्टामा विद्यालय आउँदा पनि शिक्षकले केही गर्न सक्दैनन्।
प्रअ रहमानका अनुसार २०३६ सालदेखि सञ्चालनमा रहेको यो मदरसाले धेरै जनालाई अरबी र उर्दु पढाएको छ। पुरानो मदरसा भए पनि डेस्क र बेन्च छैनन्। ‘कार्पेट ओछ्याएको छ। सबै भुइँमै बस्छन्। किन्नलाई हामीसँग पैसा छैन। कहीँबाट सहयोग पाइँदैन’, उनले दुःखेसो पोखे। मदरसामा एउटा संघीय अनुदान र बालविकास शिक्षक बाहेक अरू शिक्षकको दरबन्दी पनि छैन।
गाउँपालिकाले पाठ्यपुस्तक र छात्रवृत्ति भने नियमित रूपमा उपलब्ध गराइरहेको छ। उनी भन्छन्, ‘मेरो बुबाले पनि यही मदरसामा पढ्नुभयो। मैले पनि यही पढें। २०६६ सालमा नेपाल सरकारले विद्यालयको मान्यता दिएपछि दर्ता भएको हो।’ कक्षा ४ सम्म सञ्चालनमा रहेको मदरसामा २ सय २० विद्यार्थी छन्।
