सप्तरीको बलानबिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजा नजिक नेपाल प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ ।
सीमा स्तम्भ नम्बर २४३ नजिक तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले हातपात गरेको हो। घटनामा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादवमाथि कुटपिट भएको बताइएको छ।
स्थानीयवासीका अनुसार तस्कर समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ।
प्रहरीमाथि कुटपिट भएको पुष्टि गर्दै घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको छ ।
