नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले बालमैत्री, हरित र प्रविधिमैत्री विद्यालयको अवधारणा कार्यान्वयन गर्दै विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत उद्यमशीलता र उत्पादनसँग जोड्ने नीति लिएको छ। साथै, आधारभूत तहसम्मका सामुदायिक विद्यालयमा कुनै पनि शीर्षकमा शुल्क नलिने व्यवस्था गरिएको छ।
यस्तै, विद्यालय वरपर जङ्क फुड, मदिरा र सूर्तिजन्य वस्तुको बिक्रीमा प्रतिबन्ध, उत्कृष्ट शिक्षक–विद्यार्थी सम्मान, निःशुल्क स्वास्थ्य सेवा तथा कृषि र पशुपालन प्रवर्द्धनका कार्यक्रम पनि आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिएका छन्।
