बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाझिएको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ ।
फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित तमोर नदी र हेंवाखोलाको किनारामा अवस्थित माझीटारको समथर खेतीयोग्य जमिनमा अहिले मकैबाहेक खेती हुन छाडेको छ । विसं २०८० असार ३ गते आएको बाढीले माझीटारमा हेंवाखोलाबाट ल्याइएका दुई वटा सिँचाइ कुलो क्षतिग्रस्त बनाएको थियो । कुलाको मुहान भएको स्थानमा बाढीका कारण खोला गहिरिएपछि फिदिम र हिलिहाङ दुवैतर्फ सञ्चालित कुलो पूर्ण रूपमा बन्द भएका छन् । जसकारण चार वर्षदेखि धान, सागसब्जी, नगदेबाली र फलफूल खेती हुन नसकेको फिदिम–४ की मीना माझीको भनाइ छ ।
खेतीपाती गर्न नसकेपछि आफूहरूको जीविकोपार्जन कठिन बनेको ६० वर्षीया मीनाको भनाइ छ । “पहिले आफैँले फलाएर खान पुर्याउने गर्दथ्यौँ । अहिले महिनैपिच्छे किनेर खानुपरेको छ”, मीनाले भनिन्, “अहिले त हातमुख जोड्न पनि ऋण गर्नुपर्ने अवस्था छ । ठ्याक्कै चार वर्ष भयो, यहाँ बाझिएको ।” पशुपालन र माछा मारेर हुने आम्दानीले जीविका चलेको उनको भनाइ छ ।
सिँचाइ सुविधा नहुँदा यहाँ करिब ५०० मुरी धान फल्ने खेत बाझिएको छ । बाढीले करिब १२० मुरी धान फल्ने खेत कतै कटान गरेको छ भने कतै पुरेको छ । बाँकी खेत पनि सिँचाइ सुविधा नहुँदा बाझिएको हिलिहाङ–७ का वीरबहादुर माझीको भनाइ छ । “धेरै खेत बाढीले लग्यो, बाँकी रहेकामा पनि कुलो भत्किएर बाँझै राख्नुपर्यो”, वीरबहादुर भने, “हामीले असाध्यै कष्ट भोग्नुपरेको छ ।”
चार वर्षदेखि निरन्तरको बाढीपहिरोका पहिलेजस्तो प्रशस्त माछा पाइन छाडेको स्थानीयवासी बताउँछन । केही माझी परिवारले माछाका परिकारसहितका होटल सञ्चालन गरेर जीविकोपार्जन गर्ने गरेका छन् । यहाँका धेरै युवाहरू भने देश तथा विदेशमा श्रमिकका रूपमा काम गर्न थालेका छन् ।
“यहाँ खेतीपाती नहुने अवस्था आयो । माछा पनि प्रशस्तै पाइन्न, फाट्टफुट्ट पाइन्छ । त्यसैले धेरै युवाहरू यहाँबाट बाहिरिएका छन्”, स्थानीयवासी एवं हिलिहाङ–७ का वडा सदस्य रामकुमार माझीले भने, “हामीले माछाका परिकारमा आधारित व्यवसाय प्रवर्द्धनको प्रयास गरिरहेका छौँ, तर पर्याप्त हुन सकेको छैन ।”
अधिकांश माझी समुदायका घर भिरालो जमिनमा मात्रै छ, जहाँ उनीहरूको आफ्नै जग्गा छ । यहाँ रहेको खेतीयोग्य समथर जमिन माझी समुदायले बन्धकी, अधियाँ, कुत, ठेक्कालगायत शर्तमा लिएर खेती गर्दै आएका थिए । तर चार वर्षअघिको बाढीले बगाएको सिँचाइ कुलो पुनर्निर्माण गर्न अझैसम्म कुनै पनि निकायले चासो नदेखाएकामा माझी समुदाय असन्तुष्ट छन् ।
“हामीले भन्नचाहिँ सबै ठाउँमा भनेका थियौँ । सबै लागेर हामीलाई सहयोग गरिदिनु भनेर अनुरोध पनि गर्यौँ”, माझी समुदायका अगुवा ७० वर्षीय जसबहादुर माझीले भने, “सरकारले पनि थोरैथोरै त राहत दिनुपर्ने हो । यहाँ सबैभन्दा पछाडि परेका मानिस छौँ । मद्दत माग्न जाँदाजाँदै हाम्रो जिन्दगी बित्ने भयो ।” स्थानीय सरकारहरूले पर्याप्त सहयोग नगर्दा माझी समुदाय ‘बत्तीमुनिको अँधेरो’को अवस्थामा पुगेको जसबहादुरको गुनासो छ ।
माझीटारबाटै पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडक अघि बढेका छन् । तर सधैँ हरियाली हुने माझीटारमा मकैबाहेकका खेतीपाती नहुँदा यहाँको पर्यटनसमेत प्रभावित भएको स्थानीय व्यवसायी रमेश तामाङले बताए। “यहाँको फाँटमा खेती हुँदा मनमोहक देखिन्थ्यो, अब त बाँझिएरै सकिने भयो”, तामाङले भने, “यसले आन्तरिक पर्यटकको आगमनलाई असर गरेको छ ।”
हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्राती विपद्बाट प्रभावित योजनाहरूको पुनर्निर्माण तथा प्रभावितलाई सहयोग गर्ने बजेट नहुँदा समस्या भएको बताउछन् । “विपद्बाट क्षति भएका संरचनाको पुनर्निर्माणमा संघ र प्रदेश सरकारबाट कुनै पनि बजेट नआउनु दु:खद् पक्ष हो । स्थानीय तहको स्रोतले नभ्याएका स्थानमा माथिल्ला सरकारले सहयोग गरिदिएहुन्थ्यो ।” माझीटारमा माझी र तामाङ समुदायका गरी ४१ घर छन् भने बाहिरबाट गएर राजमार्गमा आधारित होटल सञ्चालन पनि भइरहेका छन् ।
