सुर्खेत । चोरी मुद्दामा पक्राउ परेका सुर्खेतका एक युवकको प्रहरी हिरासतमै मृत्यु भएको छ। वीरेन्द्रनगर–१० पिपिराका २१ वर्षीय सबीर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएको हो।
प्रहरीका अनुसार मोबाइल चोरीको आरोपमा जेठ २७ गतेदेखि हिरासतमा रहेका बक्सको शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बिहान कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको जनाएको छ।
प्रहरीले बक्समाथि अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान गरिरहेको थियो। घटनाको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक चिकित्सक बोलाउने प्रक्रिया भइरहेको छ।
